रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढ्छ : अर्थमन्त्री महत

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताए। अर्थमन्त्री महतले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बिचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारे।

उनले विद्युत् उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको समेत उल्लेख गरे। अर्थमन्त्री महतले भने, ‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बिचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ।’

अर्थमन्त्री महतले बाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सृजना गरेको बताए। राजश्व संकलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको उनले बताए।

उनले भने, ‘विद्युत् उत्पादनमा र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको छ। बैंकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ। घरजग्गा कारोबार र पुँजी बजार सुधार उन्मुख छ। बाह्य क्षेत्रतर्फ चालु खर्च शोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सृजना गरेको छ। राजश्व संकलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको छ।’

अर्थमन्त्री महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताए। उनले किसानहरूलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए। उनले प्राकृतिक र प्राङगारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने बताए।

अर्थमन्त्री महतले भने, ‘रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ। मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ। प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ। पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिचाई सुविधा बिस्तार गर्न जोड दिइनेछ। सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ।’