नेदरल्यान्ड्सद्वारा नेपाल दुई रनले पराजित

Nepal-Cricket-pic
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले अर्धशतक प्रहार गरे पनि जिताउन सकेनन्। नेपाललाई १५ रन चाहिएको थियो। ऐरीले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा दुई रन लिंदा करण केसी रनआउट भए।

त्यसपछि चौथो बलमा अगाडि बढेर शट प्रहार गर्न खोज्दा नेदरल्यान्ड्सका रिलोफ भानले ऐरीलाई बोल्ड गरे। त्यसपछि दुई बलमा चार रन आवश्यक थियो। नवौं नम्बरमा आएका प्रतिश जीसीले पाँचौं बलमा रन बनाउन सकेनन्। छैटौं बलमा एक रन बन्यो भने नेपाल दुई रनले पराजित भयो।

ऐरीले ३४ बलमा ६ चौका र तीन छक्काको मद्दतले ६३ रन बनाए। त्यस्तै, कप्तान पौडेलले ३६ बलमा ५० रन बनाए। प्रारम्भिक ब्याटर आसिफ शेखले ३४, कुशल मल्ल र करण केसीले ११/११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेदरल्यान्डस्का लागि रिलोफ भान र सिब्रान्ड इंगेलब्रेचले दुई(दुई तथा भिभियन किंमा, टिम भान र आर्यन दत्तले एक/एक विकेट लिए। यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सले चार विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि मिचेल लेभिटले ५४, सिब्रान्ड इंगेलब्रेचले ४९, स्कट इडवार्डसले ३३ र तेजा निदामनुरुले ३१ रन बनाए।

नेपालका लागि करण केसी र कुशल मल्लले एक एक विकेट लिए। नेपालका अन्य बलर महँगा सावित भए। नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। यसअघि म‌ंगलबार भएको खेलमा नामिबियासँग पराजित भएको थियो।