एमाले देश बनाउने भिजन भएको पार्टी हो : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताएका छन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आज यहाँ उद्घाटन गर्दै उनले पढ्न संस्कृतिको विकास गर्नका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा बताए। खोज, अनुसन्धान, लेखन र सृजनशीलको विकास गर्नसके पठन संस्कृतिको विकास गर्न सकिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले कोरोना महामारीपछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उल्लेख गरे। ‘अहिलेको अर्थतन्त्र कोरोना भाइरसले ओरालो लागेको होइन। यदि कोरोना भाइरसले अर्थतन्त्र ओरालो लाग्थ्यो भने अमेरिका, चीन भारतलगायत देशको अर्थतन्त्र ऋणात्मकमा झरेको हुने थियो,’ उनले भने, ‘सबै देश पुनरुत्थानमा भइसके। तर हामी जहाँको त्यही छौं।’

उनले नेपालको राजनीतिक परिस्थितिमा कुन बेला को सरकारमा हुन्छ को हुँदैन भन्ने कुरा भन्न नसक्ने अवस्था रहेको बताए। अध्यक्ष ओलीले एमाले इतिहास र जिम्मेवारी बोकेका देश बनाउने भिजन रहेको पार्टी रहेको बताए।

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पुस्तकले मानिसको ज्ञान बढाउने भन्दै अहिले सामाजिक सञ्जालको कारणले पठन संस्कृति हराउँदै गएको बताए। उनले पुस्तकमा सरकारले अनावश्यक कर लगाउन नहुने भनाइ राखे। भोलिसम्म सञ्चालन महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।