अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ : उपाध्यक्ष पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज
0 Shares

जनकपुरधाम। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन्। आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताए।

‘एमालेले अर्थ मन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अर्थतन्त्र सुधार भएको देखिन्थ्यो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रका सबै सूचक समस्यामा छन्,’ पौडेलले भने। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए।

उपाध्यक्ष पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्ता गठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताए। सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बता।

‘हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ । पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ,’ पौडेलले सञ्चारकर्मीसँग भने। -रासस