एमाले सचिवालय बैठक : नयाँ ढंगले अगाडि बढ्न तयार रहने निष्कर्ष

uml-office-Chyasal
लोकपाटी न्यूज
0 Shares

भक्तपुर। नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढंगले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए। उनले भने, ‘सत्ता गठबन्धन संकटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ। गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौं।’

प्रधानमन्त्रीसँग नयाँ ढंगले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए। यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ। अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका हुन्। अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए।