रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री श्रेष्ठको अनुरोध

Narayankaji_Shrestha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन्। उनले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत अनुरोध गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासंघका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।

दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल-रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गरेको उक्त मन्त्रालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासंघका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन आग्रह गरेका थिए। विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएका छन्। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्