चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनायो : महामन्त्री थापा

लोकपाटी न्यूज
0 Shares

पाटन (ललितपुर)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्। ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भने। उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गरे।

‘अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन। यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ। जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ। राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,’ महामन्त्री थापाले भने।

मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाए। प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उनले संघीय प्रणालीलाई ठीक ढंगले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताए।