प्रधानमन्त्री प्रचण्ड र अध्यक्षद्वयबीच छलफल, के कुरा भयो ?

Prachand_Oli_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार संघीय संसदमा लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेका हुन्। यही फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। यस्तै, सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ।

सत्ता गठबन्धन दलहरुबीच यसअघि भएको आठ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो। -रासस