गगन थापाको प्रश्न- सहकारी ठगीमा मुछिएकै व्यक्तिले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ‘ठग’ को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन भन्दै प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा जवाफ दिनुपर्ने बताए। ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छ? यसको विश्वास हामीले कसरी गर्ने हो?’, थापाले भने।

थापाले सहकारीमा जसले ठगी गरेको भए पनि निष्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने बताए। ‘कुनै एउटा प्रमाण नाश नहोस्। अहिले प्रहरीसँगै प्रमाणहरू छन्। पीडितहरूले जम्मा गरेर प्रमाण दिएका छन्’, उनले भने।

‘जो मुछिएको छ। ऊ आफैंले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ? त्यसैले प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। ओठे जवाफ होइन। जिम्मेवारीबोधका साथ जवाफ चाहियो’, थापाले थपे।

थापाले सहकारी ठगी प्रकरणमा राम्रोसँग अनुसन्धान हुने हो भने थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउने कुरा आफूले थाहा पाएको बताए। थपे, ‘त्यसैले अनुसन्धान नियमित ढंगले, अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने कुरा कसरी पत्याउने ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्