बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीले दिए सीआईबीलाई बयान

Binodh_Chaudhari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका सांसद एवं उद्यमी/व्यवसायी विनोदकुमार चौधरीले बाँसबारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएका छन्। सरकारी वकिलको कार्यालयसँगको समन्वयमा सीआईबीका अनुसन्धान अधिकृतहरूले सांसद चौधरीको बयान लिएको हुन्।

सीआईबीलाई बयान दिएपछि सांसद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई पनि बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन्। उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाए। ४२ वर्षअघि बाँसबारीको अनकन्टार ठाउँको कौडीको भाउमा नबिक्ने जग्गालाई आधार बनाइ आफूमाथि राजनीतिकरण गरिएको उनको दाबी छ। सांसद चौधरीले सीआईबीबाट मौखिक जानकारी आएपछि जिम्मेवार राजनीतिकर्मीको हिसाबले सहयोग गर्न आफू आएको स्पष्ट पारे।

‘एउटा जिम्मेवार व्यक्ति, एउटा जिम्मेवार राजनीतिकर्मीको हैसियतले र उद्यमीको हिसाबबाट पनि म यहाँ सहयोग गर्न उपस्थित भएँ,’ उनले भने, ‘४२ वर्ष अगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ, त्यो बेलाको सार्वजनिक, निजी साझेदारीको एउटा उत्कृष्ट मोडलको रूपमा नवीनतम सोचलाई जुन किसिमले राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःख लाग्दो छ।’

आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको उनले दाबी गरे। उनले अहिले कठिन आर्थिक परिस्थितिबाट मुलुक गुज्रिइरहेको बेला उद्यमीहरूबीच कस्तो सन्देश जाने भन्दै प्रश्न पनि गरेका थिए।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अहिले च्याम्पियन फुटवेयर बन्द भएर त्यसको सम्पत्ति सिजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

यसअघि सीआईबीले अनुसन्धानका लागि विनोद चौधरीका भाइ अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो। ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्