प्रज्ञा स्मृति साइक्लिङको तयारी पूरा

cycling
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुरमा प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्टी ओलम्पिक (एमटिब–एक्ससिओ) हुन लागेको हो।

प्रतियोगिताका संयोजक सन्तु दराइले भरतपुर भ्रमण वर्ष मनाउने क्रममा चितवनमा साइक्लिङ आयोजना गर्न लागेको जानकारी दिए। भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ।

यस प्रतियोगितामा इलाइट पुरुष र महिला, पुरुष मास्टर्स (४० वर्षमाथि), जुनियर पुरुष (१७ र १८ वर्ष) तथा चितवन विषेश महिला र पुरुष विधा रहनेछ। जसमा राष्ट्रियस्तरका स्वदेशी र विदेशी गरी करीब १५० जना साइक्लिस्टले सहभागिता जनाउने बताइएको छ।

यो प्रतियोगिता मलेसियामा हुने एसियन माउन्टेन बाइक च्याम्पियन्सीप २०२४ को छनोट प्रतियोगिता पनि हो। यस प्रतियोगितामा पुरुष र महिला विधाका विजेता एसियन माउन्टेन बाइक च्याम्पियन्सीप खेल्न योग्य हुने बताइएको छ।

मलेसियाको पुत्रजयमा सो प्रतियोगिता मे ७ देखि १२ तारिखसम्म हुनेछ। विजेताहरुले मलेसियाको टिकटसँगै ट्रफी र नगद पुरस्कार पनि प्राप्त गर्नेछन्। पुरुष र महिला इलाइटमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँ पाउनेछन्। अनय विधामा शीर्ष तीन स्थानमा रहने साइक्लिस्टले क्रमशः २० हजार, १५ हजाार र १० हजार रुपियाँ प्राप्त गर्नेछन्। पछिल्लो संस्करणमा पुरुषतर्फ एपीएफका सुरज रानामगर र महिलातर्फ लक्ष्मी मगर च्याम्पियन भइन्।

यस प्रतियोगितामा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहनेछ। यसैगरी चितवन साइकल राइडर्स क्लब पनि सहयोगीको रुपमा रहनेछ। भरतपुर महानगरपलिका प्रवद्र्धकको भूमिकामा छ। प्रमुख प्रतियोतिको एक दिनअघि शुक्रबार भरतपुरमा भरतपुर भ्रमण वर्ष २०२४अन्तर्गत बृहत साइकल र्याली पनि हुनेछ। संयोजक दराइले भरतपुर साइकल सिटी भएकोले हुनाले पनि सो र्यालीमा चार सयदेखि पाँच सयसम्मको सहभागी हुने अनुमान छ, भने।