न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

Bishwambhar_Shresth
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैँ लाग्नुपर्ने बताएका छन्। नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुगेका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिएका छन्।

‘म पनि लागिरहेको छु, सिङ्गो न्यायापालिका लागिरहेको छ,’ उनले भने, ‘श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरीबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ।’ प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौंमा मात्र भएको हुनाले श्रव्यदृश्य सुनुवाइको अझ धेरै महत्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे।

उनले मुद्दा फछ्र्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरुकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताए। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्यदृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताए। ‘न्यायिक सुधारमा प्रक्रियागत सुधारको थालनी भएको छ,’ अध्यक्ष कुँवरले भने, ‘अनलाइन अदालतको विकासले विश्वस्तताका साथ न्याय प्रणालीलाई अहिलेको भन्दाबढी पहुँचयोग्य र थप प्रभावकारी, छिटो र किफायती बनाउने छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्