भरतपुर भ्रमण वर्षको सन्दर्भमा २० वटा घडियाल गोही राप्तीमा छाडियो

ghadiyal-pic
लोकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिवार एक कार्यक्रमका बिच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पूरा भएका घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छाडेकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले वर्षे नि बाढीका समय घडियाल गोही बघाएर भारत जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्।

घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाउँ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खाना मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने औँल्याइन्।

नयाँ रौनक ल्याउने, मन्द आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैमा सकारात्मक भावना पैदा गराउने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उनले बताइन्।

‘भ्रमण वर्ष मनाइ रहदा भरतपुरका होटलहरु पर्यटकहरू भरिभराउ छन्’,उनले भनिन्,‘महानगरपालिकाको चाहाना पनि यही हो। उत्साहजनक माहोल वृद्धि हुँदै गइरहेको छ। यसलाई वर्षभरि नै निरन्तरता दिने गरी अघि बढेका छौँ।’

घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने धारणा राखिन्। प्रमुख दाहालले प्रजनन केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन्। भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिइन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले घडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिइन्।

घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उनको भनाइ थियो।

गोही संरक्षणका लागि विं।स। २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा सङ्कलन गरी वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ। जसमध्ये १५० गोहीलाई बँचाउन सकिने निकुञ्जको तथ्याङ्क छ।

निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हालसम्म १९ सय १७ वटा छाडिएको छ। राप्ती नदीमा ११ सय ६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१, काल गण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन्। जसमध्ये राप्ती र नारायणीमा ३/३ वटा भाले घडियाल गोही छन्। यो बाहेक प्रजनन केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन्। घडियाल प्रजनन केन्द्रमा भाले घडियाल गोही न्यून सङ्ख्यामा उत्पादन हुने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्