माओवादी पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Chitwan_District_Court
लोकपाटी न्यूज
0 Shares

चितवन। कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ।

शुक्रबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।

श्रेष्ठको २०६५ वैशाख २८ गते तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शिविर जुटपानीमा हत्या भएको थियो। उक्त घटना तेस्रो डिभिजन शिविरका डिभिजन कमाण्डर खामको निर्देशनमा भएको दाबी गर्दै मृतककी श्रीमती रमिला श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो।उनलाई बुधबार विहान चितवन ल्याइएको थियो।सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल झिकाएपछि खामको बयान लिइएको थियो। सरकारी तथा वादीका तर्फबाट ३ जना र प्रतिवादीका तर्फबाट ९ जना कानुन व्यवासायीले बहस गरेका थिए।

शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले काटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए। श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थाप विरूद्ध जाहेरी दिएकी थिइन्। डिभिजनमा नै कुटेर खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्