नेपाली पूँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताएका छन्। दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहमा उनलेले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिनलागेको बताएका हुन्।

मन्त्री भण्डारीले भने, ‘नेपालको पूँजीलाई पलायन हुन दिँदैनौं, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौं, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौं।’

उनले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताए। उनले लगानीसँग सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेको जानकारी दिए। लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ संकल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाँझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताए।

उनले नेपालमा पर्यटन, उर्जा तथा अन्य स्वदेशी वस्तुको प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताए। जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए। उत्पादन भएका बस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा उनले चिन्ता व्यक्त गरे।

चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको मन्त्री भण्डारीको भनाइ थियो। तीन तहका सरकारबीच समन्वय गरेर संघीय सरकार अघि बढेको उनले बताए। ‘उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछौँ, ब्याजमा अनुदान दिने कार्यक्रम पनि ल्याउँदैछौ, स्थानीय सरकारसँग समन्वय गरेर प्रविधि हस्तान्तरण कार्यक्रम ल्याउने तयारी छ, सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन गर्न अधिकतम रुपमा नेपाली वस्तु उपभोग गर्ने अभियान सञ्चालन गर्दैछ,’ उनले भने। -रासस