प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण

pic-0000
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गरेका छन्। नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रख्यात आरोही उम होङ गिलसहितका आरोही दलका सदस्यलाई नेपाली झन्डा हस्तान्तरण गरे। सरकारले जुगल प्रथम (६ हजार पाँच सय ९१ मिटर) र जुगल दोस्रो ९६ हजार पाँच सय १८ मिटर० अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो।

सो अवसरमा प्रधानमन्त्री दाहालले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गरे। उनले यस कदमले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। जुगल हिमाल आरोहणबाट पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल र दक्षिण कोरियाबीच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको मुक्तकण्ठले प्रशंसा गरे।

प्रधानमन्त्री दाहालले पछिल्लो पटक राष्ट्रसङ्घको महासभाका बेला दक्षिण कोरियाली राष्ट्रपतिसँग आफ्नो भेटवार्ता भएको र सो अवसरमा आफूलाई दक्षिण कोरिया भ्रमणको निम्तो दिनुभएको स्मरण गरे। उनले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको जानकारी दिए।

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई योङ, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, नेपाल पवर्तरोहण सङ्घका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पदाधिकारीलगायतको उपस्थिति थियो।रासस