स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउनुस् : प्रधानमन्त्री

Prachand
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्। आठौं स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए।

‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने,’स्वास्थ्य सेवालाई समतामूलक ढंगले स्वास्थ्य बिमामार्फत उपलब्ध गराई सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनै पर्दछ। यसका लागि सरकार सधैँ प्रतिबद्ध छ।’

यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवा प्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारलाई पूरा गर्नुपर्नेमा जोड दिँदै उनले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान निर्देशन दिए। उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं संघीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमको मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको बताए।

बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए। उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे।

लोककल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको स्वास्थ्यप्रति प्रतिबद्ध रही ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम राज्यको प्राथमिकता प्राप्त सहभागितामूलक कार्यक्रम हो। कार्यक्रमको दायरा बिस्तार गरी यसलाई सार्थक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बुढानीलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गरे। आजदेखि सो कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा सुरु भएको छ। कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले बीमाको दायरालाई थप बिस्तार गरिएको जानकारी दिए।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा शिवराज अधिकारीले बीमा कार्यक्रमको महत्त्व, यसको आवश्यकता र सुधारका विभिन्न पाटा पक्षबारेमा चर्चा गर्दै कार्यक्रमलाई थप सरल बनाउनका लागि पहल गरिने बताए। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमा उत्पादित औषधिलाई थप व्यवस्थित बनाएर बीमा कार्यक्रमलाई परिष्कृत र व्यवहारिक बनाउँदै लगिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्