उद्योगमैत्री कानुन आएपछि अर्थतन्त्र थप चलायमान हुनेछ : उद्योगमन्त्री

Damodar_Bhandari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको राय सुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन्।

नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८ औँ वार्षिक साधारण सभामा आज उनले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरे। सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ।

मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योग मन्त्री भण्डारीले भने, ‘सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवं विस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ।’

पूर्वमन्त्री एवं हर्बल उत्पादक संघका पूर्वअध्यक्ष पार्वत गुरुङले मुलुकको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनका हिसाबले जडीबुटीजन्य उद्योगबाट देश लाभान्वित हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सोहीअनुसारको नियम कानुन बनाउनुपर्ने धारणा व्यक्त गरे।