एमाले पर्वतको अधिवेशन : अध्यक्षमा ३ आकाङ्क्षी

uml-parbat
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/पर्वत, २७ चैत। नेकपा कम्युनिस्ट पार्टी (एमाले) पर्वतको १० औँ जिल्ला अधिवेशन मङ्गलवारदेखि सुरु हुँदै छ। नवौँ अधिवेशन भएको २७ महिनापछि विधानमा व्यवस्था भएको भन्दा नौ महिना अगाडि नै अधिवेशन गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

अधिवेशनको उद्घाटन पार्टी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गर्ने तय भएको एमाले जिल्ला अध्यक्ष राजु पौडेलले बताए। कुश्माको होटेल वन्दनाको सभा हलमा हुने अधिवेशनमा उपाध्यक्ष पौडेल सहित केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरूको सहभागी हुँदै छन्। मङ्गलवार उद्घाटन भएपछि बुधवार र बिहीबार बन्द सत्र चल्ने छ। बन्द सत्रले आगामी कार्यकालको लागि नयाँ जिल्ला कमिटी निर्माण गर्ने छ।

अधिवेशनमा जिल्लाभरबाट करिब तीन सय ८५ जना प्रतिनिधि सहभागी हुँदै छन्। जसमा जिल्ला कमिटीबाट ९८ जना, लेखा कमिटीबाट सात जना, पालिका कमिटीबाट १४ जना, सल्लाहकार परिषद् सदस्य १० जना सहभागी हुने छन्। यस्तै स्थानीय तहतर्फ कुश्मा नगरपालिकाबाट ५८ जना, फलेवास नगरपालिकाबाट ४८ जना, जलजला गाउँपालिकाबाट २८ जना, महाशिला गाउँपालिकाबाट २३ जना, पैयुँ गाउँपालिकाबाट २० जना, बिहादी गाउँपालिकाबाट १९ जना र मोदी गाउँपालिकाबाट ३२ जना प्रतिनिधि सहभागी हुने छन्। पार्टीका २२ ओटा जनसङ्गठनको प्रतिनिधित्व गर्दै २२ जना र एक जना ज्येष्ठ कम्युनिस्ट मञ्चबाट प्रतिनिधि पनि अधिवेशनमा सहभागी हुने छन्।

अधिवेशनलाई सफल पार्नको लागि विभिन्न ११ ओटा समितिहरू निर्माण गरेर कामको बाँडफाँट गरिएको छ। प्रतिनिधिहरूको आवास व्यवस्थापन भोजन, यातायात लगायतको व्यवस्थापन लगायतका काम पनि पूरा भएका छन्। अध्यक्ष पौडेलका अनुसार कार्यक्रमका लागि सबै तयारीहरू पूरा भएका छन्।

अधिवेशन सम्पन्न गर्नका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो सबै खर्च पार्टीमा सङ्गठित भएकाहरूबाट नै सङ्कलन गरिने एमाले पर्वतका सचिव गोविन्द पहाडीले बताए। यो खर्च जुटाउन अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट जनही दुई हजार रुपैयाँ, एमाले पर्वतका पदाधिकारी तथा सदस्यहरू, एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसहित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूबाट पनि पद अनुसारको सहयोग लिइने उनको भनाइ छ।