बाँकी कार्यकाल वर्तमान गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौं : मुख्यमन्त्री अधिकारी

Khagraj_Adhikari
लोकपाटी न्यूज
0 Shares

गलकोट। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १० औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका उनले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताएका हुन्।

उनले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए। ‘राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौं, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउँछौं,’ मुख्यमन्त्री अधिकारीले भने।

उनले अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै त्यसतर्फ काम गर्नका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिए। गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको केही राम्रा कामलाई दोस्रो पञ्चवर्षीय योजनामा राखेर कार्यान्वयनमा लैजान थालेको उनको भनाइ छ। अहिले देशमा सामाजिक र राजनीतिक अराजकता बढेको बताउँदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिन नयाँ समीकरण निर्माण गरेको बताए।

एमालेले आगमी चुनावलाई मिसनका रूपमा लिएको बताउँदै एमालेको पक्षमा जनलहर आइरहेको दाबी गरे। उनले आगामी निर्वाचनमा एमालेको बहुमत आए पनि विचार मिल्ने राजनीतिक दलसँग सहकार्य भने जारी राख्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्