नाउपाका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेको छ। पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई तीन महिनाका लागि निलम्बन गरिएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले चौधरीलाई निलम्बन गर्न सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेकी छन्। अध्यक्ष चौधरीले पार्टीको अन्तरिम विधान ०७८ धारा (१७) क को उपधारा २, ४ र ५ को प्रावधानअनुरूप पार्टीको केन्द्रीय कमिटीको शुक्रबारको निर्णयअनुसार निलम्बन सिफारिस गरिएको उल्लेख गरेकी छन्।

प्रदेशसभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ। पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

यसअघि संस्थापक अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई संसदीय दलको नेताबाट पनि हटाइएकी थिइन्। नाउपाको सुदूरपश्चिम संसदीय दलमा श्रेष्ठनिकट कैलाश चौधरी नेता चयन भइसकेका छन्। नागरिक उन्मुक्तिभित्रको विवादकै कारण सुदूरपश्चिममा सरकार गठनमा ढिलाइ भइरहेको छ।