दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा नेपाल ३२ रनले विजयी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो।

उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले। उनले ३३ बलमा चार चौका र छ छक्काको सहयोगमा ६३ रन बनाए। साथै मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले १९, कमरान खानले १८ रन बनाए। कतारका बाँकी ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाले समान दुई/दुई विकेट लिए भने कुशल मल्ल र अविनाश बोहोराले एक/एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। उनले कतारका कमरान खानको एकै ओभरमा छ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी गरे। उन्नाइस ओभरसम्म एक सय ७४ रनको अवस्थामा रहेको नेपाल ऐरीको छ छक्काको सहयोगमा दुई रन १० रनको विशाल योगफल बनाउन सफल भएको थियो।

युवराज सिंहले सन् २००७ को टी-२० विश्वकपमा इङ्ल्याण्डविरुद्धको खेलमा बलर स्टुआर्ट बोर्डको ओभरमा छ छक्का प्रहार गरेका थिए। नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए। कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे। साथै ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले। उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए। कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए। साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए। जितसँगै समूह ‘ए’मा रहेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। नेपालले दुई खेलमा दुई जितसँगै चार अंक बटुलेको छ। एक खेलमा एक जितका साथ हङकङ दोस्रो, दुई खेलमा एक जित र एक हारका साथ मलेसिया तेस्रो, एक खेलमा एक हारका साथ साउदी अरेबिया चौथो र दुई खेलमा दुई हारका साथ कतार पाँचौ स्थानमा छ।

साथै समूह ‘बी’ दुई खेलमा दुई जितका साथ यूनाइटेड अरब एमिरेट्स पहिलो स्थानमा छ भने दुई खेलमा एक जित र एक हारका साथ कुवेत दोस्रो स्थानमा छ। एक खेलमा एक जितका साथ ओमान तेस्रो, दुई खेलमा दुई हारका साथ बहराइन चौथो र एक खेलमा एक हारका साथ कम्बोडिया पाँचौ स्थानमा छ।