उत्सवै उत्सवको वर्ष : भरतपुर भ्रमण वर्ष

pic
लोकपाटी न्यूज
0 Shares

चितवन । सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवै उत्सवको वर्ष बनेको छ। भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन्। भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिवल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटेल व्यवसायी संघको केन्द्रीय बैठक, साइकल जङ्गल राईड, साइकल  र्या‍ली, म्याराथन, लायन्स क्लब ३२५ आरको अधिवेशन, फर्म एक्पो भएका छन्।

यस्तै वन्यजन्तु उद्धार केन्द्र उद्घाटन, घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा रुपान्तरण, पर्यटन तथा होटेल व्यवसायी प्रतिष्ठान (नाथम) द्धारा अन्तरक्रिया कार्यक्रम, महिला उद्यमी कृषि प्रदर्शनी, नेत्र ज्योति संघको महाधिवेशन, एकीकृत अखिल नेपाल शिक्षक संघ महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलन, रिटर्नी नेपालको प्रथम महाधिवेशन, आदिवासी जनजाति महोत्सव तथा व्यापार मेला, अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता, विशेष सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष उत्सवलगायतका कार्यक्रम भइसकेका छन्।

मार्च १ गते नारायणी नदी किनारमा देशका शिर्ष नेतृत्व र विशाल जनसागरको उपस्थितिमा भ्रमण वर्षको शुभारम्भ गरिएको थियो।महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार उद्घाटन समारोहमा एक लाख बढी व्यक्तिको सहभागिता रहेको थियो। भरतपुर भ्रमण वर्षको अवसरमा महानगरको कार्यपालिका बैठकबाट विभिन्न ५१ वटा कार्यक्रमहरू तय भएका छन्। जसमा भ्रमण वर्षको उद्घाटन तथा समापन कार्यक्रम २ वटा, मेला महोत्सव तथा प्रदर्शनी १० वटा, सेमिनार तथा गोष्ठी ६ वटा, पर्यापर्यटनका कार्यक्रम ५ वटा, र्या‍ली, म्याराथन, खेलकुद, साहित्यिक कार्यक्रम, राष्ट्रिय अधिवेशन ३/३ वटा, राष्ट्रिय सम्मेलन ४ वटा, धार्मिक पर्यटनका कार्यक्रम ४ वटा, फुड फेष्टिवल ६ वटा रहेका छन्।

महानगरपालिकाको भ्रमण वर्ष सफल बनाउन ५१ बाहेक विभिन्न संघ संस्थाले पनि कार्यक्रम गर्दै आइरहेका छन्। कार्यक्रमहरू १ दिनेदेखि ११ दिनसम्म हुने भएकाले महानगरमा अधिकांश समय कुनै न कुनै कार्यक्रम जारी रहने भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। फुड फेष्टिवल तथा मेला महोत्सवहरूमा विशेष सांस्कृतिक कार्यक्रम पनि समावेश गरेकाले भ्रमण वर्ष थप उत्सवमय देखिने पर्यटन विज्ञ सुवेदीले बताए।

भरतपुरका होटलहरु भरिभराउ हुनुले यहाँको पर्यटन गतिविधि पनि बढ्दै गएको सङ्केत देखिएको छ। कोरनाकालपछि पहिलो पटक यहाँका होटेल भरिभराउ भएको व्यवसायीहरू बताउँछन्। स्वदेश तथा विदेशबाट भरतपुर घुम्न जानुपर्छ भन्ने लहर पनि देखिएको छ। भरतपुर महानगरपालिकाले भ्रमण वर्षको अवसरमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बसाउनको लागि पत्राचार पनि गरेको छ।

यसैबीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, धर्मगुरु पनि भरतपुरमा आउने कार्यक्रम छ। महानगरपालिकाले विदेशी पर्यटकलाई भरतपुर भित्र्याउने लक्ष्यसहित राजदूतहरूको सम्मेलन पनि हुँदै छ। भ्रमण वर्षको लागि पर्यटन बोर्डबाट रु ७० लाख विनियोजन भएको छ भने असारसम्म हुने कार्यक्रम सञ्चालन गर्न रु ३ करोड विनियोजन गरिएको छ। आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको हो।

यहाँ आउने पर्यटकलाई लक्ष्ति गरी होटेल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्। भरतपुरमा प्याराग्लाइडिङ–बोटिङ, जङ्गल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ। महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ।