स्थानीय निकाय गणतान्त्रिक शासन प्रणालीको बलियो आधार हो : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज
0 Shares

दमौली (तनहुँ)। राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन्। तनहुँको म्याग्दे गाउँपालिका-४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै उनले झण्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।

राष्ट्रपति पौडेलले भने, ‘व्यवस्था फेरिए पनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासका गतिलाई तीव्रता दिनुछ भने अर्कोतर्फ संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन।’ उनले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। संवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्त्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकांक्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे।

विगतमा सिंहदरबारमा केन्द्रीकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो। स्थानीय तहका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले भने, ‘देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस गाउँपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी सेवा सुविधालाई सहज र प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकामा म धन्यवाद भन्न चाहन्छु।’

उनले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने र त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने बताए। उनले कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै बिस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरे। राष्ट्रपति पौडेलले भने, ‘हामीले कर्म गर्ने हो, निराश हुने होइन। नेपालमा विकासको अपार सम्भावना छ र हामी चारैतिरबाट बिस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौं।’

उनले पर्याप्त र सक्षम जनशक्ति विकास गरी सेवालाई छिटो बनाउन गाउँपालिकाका सबै सरोकारवाला दत्तचित्त लाग्नेमा आफू विश्वस्त रहेको बताए। गाउँपालिकाका उर्वर भूमि, खोलानाला, पाखापखेराले यसको प्राकृतिक रमणीयलाई मुखरित गरेको बताउँदै गण्डकी प्रदेशको केन्द्र पर्यटकीय राजधानीको नजिकै रहेको म्याग्दे गाउँपालिकामा आउन पाउनु आफ्ना लागि अहोभाग्य ठानेको उनले उल्लेख गरे। अकला र किल्चोक जस्ता धार्मिक स्थलले यहाँको धार्मिक महिमा बढाएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले बन्दै गरेको सेती जलाशय परियोजना, अबको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले बिस्तारै सबैतिरबाट सुविधा थपिँदै गएको र गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याए। नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्त्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पूरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै उनले विगतमा सिंहदरबारमा केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढङ्गले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट गरे।

‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीट्जरल्याण्डको जस्तो ‘स्वशासन’ र महात्मा गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेका हौं,’ उनले भने, ‘आज ती सोचहरूले कति साकार रूप लिन गइरहेका छन् र लिन सक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु।’

श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउँदै उनले कृषि र पर्यटनबाटै यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोल्नेमा विश्वस्त रहेको चर्चा गरे। संविधानको भावना र संघीयताको मर्मअनुरूप विकासका कामलाई नतिजामुखी बनाउनुपर्ने राष्ट्रपति पौडेलले जोड दिए। सो अवसरमा राष्ट्रपति पौडेलले भवन निर्माणका लागि जग्गा दान दिने दाताहरूलाई सम्मान गरेका थिए।

छ करोडको लागतमा गाउँपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण गरिएको हो। हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह शुभारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उक्त भवन निर्माणको काम विसं २०७७ असोजबाट सुरु भएको थियो। दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिए पनि विविध कारणवश काममा ढिलाइ भएको उनको भनाइ छ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको हो। सात वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन छन्। विसं २०७६ फागुन २७ गतेको गाउँसभाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्रसहित भवन निर्माण गर्ने गरी म्याग्दे गाउँपालिका-४ नारिङ्गेलाई निर्धारण गरिएको थियो। भवन निर्माणका लागि लालपूर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको थियो भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको छ।

विसं २०७७ असोज ५ गतेको कार्यपालिको बैठकले गाउँपालिकाको भवन निर्माणका लागि माटो परीक्षणका लागि कटेरो इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मा दिएको थियो। भवन निर्माणको डिपिआर बनाउने जिम्मा भने रेस इन्जिनियरिङले पाएको थियो। कटेरो इन्जिनियरिङले गरेको माटो परीक्षण अनुसार उक्त ठाउँमा चार तलासम्म भवन निर्माण हुन सक्ने देखिएको थियो। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्