बार्सिलोनामा मिनी नेपालको झल्को दिने भव्य कार्यक्रमको आयोजना

pic
लोकपाटी न्यूज
0 Shares

स्पेन। स्पेनको बार्सिलोनामा नेपालको झल्को दिने गरी कार्यक्रम गरिने भएको छ। नेपाली जन प्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सोसँग सहकार्य गरिरहेको सांस्कृतिक विभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो।

यहि २१ अप्रिल (वैशाख ९ गते) आइतबार दिउँसो साढे ३ बजेदेखि राति ७ बजेसम्म कार्यक्रम हुनेछ। बार्सिलोनाको मुटु मानिने दैनिक संसारभरका हजारौँ पर्यटकहरूले अवलोकन गर्ने विश्वकै ठुलो मध्यको एक साग्रदा फामिलीया चर्च अगाडी काल्ले मारिना कोन प्रोभेन्साको खुल्ला आकाशमा कार्यक्रम हुँदैछ। नेपाल सम्बन्धी सूचना आदान-प्रदान, अन्तर देशीय परिचय आदान९प्रदान, नेपाल पर्यटन प्रवर्द्धन तथा भरतपुर भ्रमण वर्ष २०२४ सम्बन्धी सामग्रीहरूको वितरण, नेपाली कला,संस्कृति तथा भेष भूषा, नेपाली खानाको स्टल सहितको सांस्कृतिक प्रस्तुतिहरू रहने छन्।

नेपाली जन प्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले बार्सिलोना नेपालमय बन्ने बताए। बार्सिलोनामा मिनी नेपालको झल्को दिइनेछ, उनले भने, पर्यटकहरुले नेपाली कला, संस्कृतिबारे सजिलै बुझ्न पाउनेछन्। १ सय ४१ वर्ष पहिले शिलान्यास भएर निर्माणाधीन साग्रादा फामिलिया चर्च घुम्न विश्वभरबाट पर्यटक आउने गर्छन्। साग्रादा फामिलिया छेउमै हुने कार्यक्रममा विश्वभरका पर्यटक सहभागी बन्नेछन्। नेपाली भेषभुषामा सजिएर हुने नाचगानले विश्वका पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ।

कार्यक्रम स्थलमा नेपालका भ्रमण गन्तव्यबारे जानकारी दिने सूचना केन्द्र पनि राखिने छ। भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन भरतपुरका गन्तव्यहरूको श्रव्य दृश्य सामाग्रीहरू प्रोजेक्टरमा देखाइनेछ। गुरुङ, मगर, नेवार, तामाङ, शेर्पा, खस आर्य लगायतका समुदायको चिनारी गराउने गीतसङ्गीत, नृत्य देखाइनेछ। नेपाली पाठशाला बार्सिलोना मार्फत स्पेनमै जन्मेर हुर्केका ससाना बालबालिकाहरूले नेपाली मौलिक गीतमा नाच देखाउनेछन्। एनपिपिएफले बर्सेनि नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आइरहेको छ। नेपाली हस्तकलाका सामाग्री, बुद्धका मूर्ति, हिमालका पोस्टरहरू, नेपाली खानाका स्टलहरू समेत रहनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्