पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उनले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। नेपालबाट निर्यात हुने महत्त्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवा बाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गरे।

उनले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिएका थिए। पश्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पश्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा संकलन र प्रशोधन गरी पश्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ।

पश्मिना फाइबर प्रशोधन सम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौंका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो। सत्र दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए। -रासस