प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

amir-prcahnda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए।

कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिए। उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे।

नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए।

“कतार नेपालको विश्वासिलो मित्रका रुपमा रहेको छ,” प्रधानमन्त्रीले भने, “हाम्रो सम्बन्ध प्रगाढ र विस्तार हुँदै गएको छ। यो सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित छैन, जनताको तहमा पनि विस्तार भएको छ।”  उनले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाईमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।