जलविद्युत् नेपालको उन्नतीको महत्वपूर्ण आधार हो : मन्त्री बस्नेत

Shakti_Basnet
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताएका छन्। ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको छ। यो महत्वाकांक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो,’ मन्त्री बस्नेतले भने। लगानीका लागि देशभित्रको स्रोतको उपयोग गर्दै वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विधेयक चाँडोभन्दा चााडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे। जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे।

‘परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ,’ मन्त्री बस्नेतले भने। अहिले जलविद्युत् परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्धासमेत पेचिलो बन्दै गएको उनको भनाइ थियो। यस एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि समेत टेवा पुग्ने बताए।