नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। टी-ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ। जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो।

नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, कप्तान दीपेन्द्रसिँह ऐरीले ७, गुल्सन झाले ६ तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान तीन तीन रन बनाए। करणले १७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । बमले २९ बलमा एक चौका र दुई छक्का हाने।

नेपाललाई एक सय ५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’का हायडेन वाल्सले तीन, गुदाकेश मोतीले दुई तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले एक एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो। वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले। उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए। यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए। उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने। यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए। पाँच खेलको जारी शङ्खलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा पजयी भएको छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो। नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो। शृङ्खलाको चौथो खेल बिहीबार हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्