नेपाली समाजलाई दिग्भ्रमित गर्नेहरूको परीक्षण उपनिर्वाचनले गर्‍यो : महासचिव पोखरेल

Shankar_Pokhrel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। आज यहाँ एमाले काठमाडौं-प्यूठान सम्पर्क मञ्चको १२औँ अधिवेशन उद्घाटन गर्दै उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताएका हुन्।

महासचिव पोख्रेलले हालै सम्पन्न उपनिर्वाचनले मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्ति र प्रवृत्ति काम लाग्दैन भन्ने सन्देश दिएको बताए। विकसित देशमा राजनीतिक स्थायित्व पुराना राजनीतिक दलबाट खोज्ने गरिएको उनको भनाइ छ।

‘अमेरिकामा सयौँ वर्षदेखिका तीनै पार्टीबाटै नेतृत्वको विकल्प खोज्ने गरिन्छ। त्यहाँ ती पार्टी पुराना भयो, जनताले नयाँ पार्टी चाहियो भनेर भन्दैनन्। ब्रिटेनमा पनि सयौं वर्षदेखि पुराना पार्टी आपसमा प्रतिस्पर्धा गर्छन्,’ उनले भने, ‘तर नेपालमा सामाजिक सञ्जालमा चर्चित व्यक्तिलाई अगाडि सारेर पपुलिजमका आधारमा विचारधारा निर्माण गर्ने र पुराना पार्टीको विकल्प खोज्ने दुष्प्रयत्न गरिएको छ। त्यसले नेपाली समाजलाई दिग्भ्रमित गरिरहेको थियो, त्यो सच्चा के हो भन्ने कुरा जनताका बीचमा गएर उपनिर्वाचनले परीक्षण गरेको छ।’

उनले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए। अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरूको नभएको भन्दै मुलुकको ओरालो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको उनले स्पष्ट पारे। अहिले पनि एमालेको ध्यान मिसन २०८४ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा उनले राखे।