आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताएकी छन्।

गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउनसके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको उनको भनाइ छ। मन्त्री शर्माले भनिन्, “गोरखापत्रलाई उज्वल, प्रतिस्पर्धी र अगुवा पत्रिका बनाउन नयाँ ढङ्गले सोच्नुपर्छ।”

उनले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताइन्। “विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ। नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पु¥याएको योगदान अविस्मरणीय रहेको छ”, उनले भनिन्।

सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गर्दै उहाँले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन्। आममानिसमा बिस्तार हुँदै गएको सूचना पहुँच र सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने उनको भनाइ थियो।

“नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको गोरखापत्रको इतिहास जति गौरवशाली छ, वर्तमान र भविश्यमा पनि यसलाई कायम राख्नु चुनौतीको विषय हो”, उनले भनिन्, “बजारमा प्रतिस्पर्धीका साथै अगुवा पत्रिकाका रुपमा स्थापित गर्न, आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ।”

गोरखापत्रले सरकारका आधिकारिक समाचार सम्प्रेषण गर्नाका साथै सरकार र जनताका बीचको पुलको काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले सरकारका राम्रा कामबारेमा जनताको बीचमा पुर्‍याउने तथा जनता गुनासा र अपेक्षा सरकारसमक्ष पुर्‍याउने गरी सरकारी सञ्चारमाध्यमले कार्यक्रम बनाउनुपर्ने बताइन्।

“सरकारी सञ्चारमाध्यम जुन विरासतबाट आए, त्यो जनमानाको विरासतका आधारमा सरकारी सञ्चारमाध्यम सरकारका मजनमण्डलीका रुपमा स्थापित भए। सरकारका गुणगान गाउने बाहेक जनताको भाषा बोल्न छाडियो”, उनले भनिन्, “तर आज हामी समावेशितासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौँ त्यसकारण गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ।”

उनले संविधानसभाबाट जारी संविधानका उपलब्धिका बारेमा पनि सरकारी सञ्चारमाध्यमले पनि जनतासमक्ष लैजानुपर्ने बताइन्। विगतमा राजनीति र पत्रकारिता क्षेत्र सँगसँगै भएर राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनपछाडि प्राप्त अधिकार कार्यान्वयनमा पनि सञ्चार जगत्ले खबरदारी गर्नुपर्नेमा जोड दिइन्।

गोरखापत्र र यसका सहप्रकाशन भावि पुस्ताका लागि बौद्धिक सम्पत्ति भएको जनाउँदै उनले यसको संरक्षणका लागि गोरखापत्रले थालनी गरेका प्रयास सरहानीय रहेको बताइन्। प्रतिस्पर्धी बजारमा आफूलाई खरो रुपमा उतार्न जिम्मेवार, व्यावसायिक र विश्वसनीय भएर प्रस्तुत गर्नुपर्नेमा जोड दिइन्। रासस