अशोक राई नेतृत्वको ‘जसपा’ निर्वाचन आयोगमा दर्ता

Ashok_Rai
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका आयुक्तहरूको आइतबार बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालबाट विभाजित भई आइतबार नेता राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो। उनीहरूको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए।

‘आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ,’ प्रवक्ता पौडेलले भने। आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र ‘जनता समाजवादी पार्टी’लाई दिई सम्बन्धित निकायहरूलाई लेखी पठाउने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्