राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छ : रक्षामन्त्री उप्रेती

Hari_Prasad_Upreti
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने विशेष दायित्व बोकेको निकायका रुपमा रक्षा मन्त्रालयले काम गरिरहेको बताएका छन्। संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताजस्ता महत्वपूर्ण र संवेदनशील विषयमा प्रत्यक्ष सरोकार राखेर कार्य गरिरहेको बताएका हुन्।

बैठकमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका काम कारबाही र भावी कार्य दिशा तथा मातहत सञ्चालित राष्ट्रिय गौरवका आयोजना प्रगति, समस्या समाधानका उपाय समाधानलगायतका विषयमा छलफल भयो। रक्षामन्त्री उप्रेतीले भने, ‘गौरवशाली इतिहास बोकेको तथा मुलुक एकीकरणजस्तो प्रशंसनीय कार्य गर्दैआएको नेपाली सेना राष्ट्रिय सुरक्षा विपद् व्यवस्थापनदेखि राज्यले दिएको सबैखाले जिम्मेवारी पूरा गर्न समर्पित भएर लागि परेको छ।’

राष्ट्रिय सुरक्षा नीति २०७५ सरकारको मूल नीति भएकाले सबै मन्त्रालय र निकायले यसलाई मूल नीति बनाएर कार्य गर्न जरुरी रहेको बताउँदै उनले जुनसुकै राजनीतिक दल र विचार धारा बोक्ने व्यक्ति भए पनि राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा एउटै स्वर र बुझाइका साथ उभिनुपर्नेमा जोड दिए।

उनले भने, ‘सुरक्षा बहुआयामिक र अन्तर निकाय सम्बन्धित हो, सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायबीच समन्वय, साझा बुझाइ र अवधारणा हुनुपर्छ।’ नेपालका लागि राष्ट्रिय सुरक्षाको विषय धेरै पेचिलो भएकाले राजनीतिक नेतृत्वलगायत प्रत्येकले गम्भीरताकासाथ बुझ्न र गहिरोसँग मनन् गर्न आवश्यक रहेको बताउँदै मन्त्री उप्रेतीले अहिले मुलुकको राष्ट्रिय सुरक्षाको अवस्था केही कमजोर भएजस्तो देखिएको विचार प्रकट गरे।

उनले भने, ‘विभिन्न ठाउँमा दिइएको अभिव्यक्ति, बैंकको किस्ता र बच्चाको विद्यालयको शुल्क तिर्न नसक्दा पनि राष्ट्रियताप्रति ललकारेको देखिन्छ। कतिपय अवस्थामा जानेर वा नजानेर आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि प्रहार गर्ने काम भएको छ।’ -रासस