पार्टी विभाजनविरुद्ध कानुनी लडाइँमा जान्छौं : उपेन्द्र यादव

Upendra_Yadav
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलनको आयोजन गरी अध्यक्ष यादवले सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइएको हल्ला निराधार र कपोकल्पित रहेको स्पष्टोक्ति दिए।

‘म अमेरिका भएको बेला मौका छोपेर एउटा हल्ला चलाइयो। जसपा र एकीकृत समाजवादी काँग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो,’ अध्यक्ष यादवले भने। उनले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको र त्यसका लागि कानुनी उपचार खोज्ने पनि बताए। उनले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गरे।

अध्यक्ष यादवले भने, ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यस विरुद्ध हामी अदालत जान्छौं। कानुनी र राजनीतिक लडाइँ लड्छौं।’

उनले पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको बताए। पार्टी महाधिवेशन नजिकिँदा भएको विभाजनले फाइदा कसैलाई नहुने उनको भनाइ थियो।