प्रजातन्त्र आउनु अघि र पछिको समय हो चलचित्र ‘पुजार सार्की’ : निर्देशक राउत

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। चलचित्रले पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ। यसले आम मानिसमा एक किसिमको सन्देश र भाष्य निर्माण गर्छ। त्यसैले चलचित्रमार्फत विभेद र वर्गीय संघर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ।

‘पुजार सार्की’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले चलचित्रकर्मीको दायित्व बोध गरेर सामाजिक विषयवस्तु चलचित्रमार्फत ठूलो पर्दामा ल्याउन लागेको बताए। ‘हामीले जातीय विभेद र यसले समाजमा पारिरहेको प्रभावलाई भन्नुपर्छ। उक्त समुदायले धेरै बोलिसकेका छन्, अब हामीले चलचित्रको माध्यमबाट विभेद अन्त्यमा सघाउनुपर्छ,’ निर्देशक राउतले भने, ‘व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै छ। यो विषयमा हामीले ध्यान दिनु जरुरी छ, मैले यही कथालाई चलचित्रमा ल्याएको हुँ।’

सुरुआती समयमा प्रेम कथानक चलचित्र निर्देशन गरेका निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता सामाजिक विषयमा चलचित्र निर्देशन गरिसकेका छन्। ‘प्रसाद’ मा जातीय विभेद र अन्तरजातीय विवाहको मुद्दालाई उठान गरेका थिए। उनले ‘प्रकाश’ मा वर्गीय संघर्षलाई प्रस्तुत गरे। यस पटक मिश्रित समाजमार्फत अघिल्ला दुवै चलचित्रको मुद्दालाई उठाएको उनको भनाइ छ।

‘समय अनुसार पात्र र परिवेश फरक हुन्छ। यस पटक हामीले प्रजातन्त्र आउनु अगाडि र पछिको समयलाई चलचित्रमा प्रस्तुत गरेका छौं। मिश्रित समाज र त्यसमा संघर्ष गरिरहेका समुदायको कथा भन्ने कोसिस गरिएको हो। तर, यो काल्पनिक कथा नभई समाजमा घटेको घटनामा आधारित छ,’ निर्देशक राउतले भने।

‘पुजार सार्की’ चलचित्रका लेखक विकास सुवेदीले बाल्यकालमा देखेको आफ्नै गाउँको घटनाक्रमलाई कथाको रुपमा लेखेको बताए। उनले भने, ‘पछिल्लो समय हामीले तयार गरिरहेको चलचित्रकै सिलसिलामा नयाँ चलचित्रमा अब यो कथालाई भन्नुपर्छ भन्ने लाग्यो। किनकि काठमाडौंमा बसेर नेपाल बुझ्न सकिँदैन, ग्रामीण संसार र जनजीवन अझैँ संघर्षशील छ।’

‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अभिनय गरेका छन्। अभिनेता सिग्देलले चलचित्र विषय प्रधानसँगै मनोरञ्जनात्मक पनि रहेको बताए। ‘यसमा हामीले विषय उठाएका छौं। तर, यो चलचित्र भएकोले यसलाई कलाको शैलीमा तयार गरिएको छ। मैले निभाएको चरित्रले उसले देखेको समाजलाई आफ्नो गाउँमा देख्न चाहन्छ। त्यसका लागि त्यो पात्र संघर्षशील छ,’ अभिनेता सिग्देलले भने।

ग्रामीण युवाको भूमिकामा देखिनुभएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैतबहादुर’ बन्ने विश्वास व्यक्त गरे। ‘मैले एउटा फरक जीवन बाँच्ने कोसिस गरेको छु । त्यो जीवनले मलाई त्यो समुदायको समस्यासँग जानकार गरायो,’ अभिनेता खड्काले भने, ‘हामीले आफ्नो आँखाले अरूको समस्याले हेर्दा बुझ्न सक्दैनौं। महसुस गर्न त्यो समुदाय भएर बाँच्नु जरुरी छ।’

उनले कास्कीको कास्कीकोट गाउँको स्थानीय लवजदेखि रहनसहनलाई आत्मसात् गर्न प्रशिक्षण लिएको बताए। उनले भने, ‘हामीले हरेक भूमिका निर्वाहका लागि उत्तिकै मेहनत गरेका छौं। तर, नतिजाले मात्र मेहनतको चर्चा हुनेछ।’

सङ्गीतकार सुभाष भुसालले निर्माण गरेको चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्यलगायतको अभिनय हेर्न पाइने छ। चलचित्र बुद्धजयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शन हुँदैछ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्