बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन

pic-pic
लोकपाटी न्यूज
0 Shares

प्रकाश अधिकारी/तमानखोला, बागलुङ। मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ तमानखोला–१ स्याउलास्थित बुद्ध आधारभूत विद्यालयमा विविध कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइएको छ। दिवसको अवसरमा विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूको बुधबार भएको भेलाले कक्षा ८ मा अध्ययनरत छात्र निर्मल सिर्पालीको अध्यक्षतामा १५ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरेको हो। सर्कलको उपाध्यक्षमा युवराज सिउथानी, सचिवमा इन्द्र बहादुर बिक, सहसचिवमा रुम कुमारी बिक, कोषाध्यक्षमा डिलकुमारी बिक र सहकोषाध्यक्षमा आयुष घर्ती रहेका छन्।

त्यस्तै सदस्यहरुमा आरती रोका, पूर्णकुमारी प्रतेल, प्रकाश घर्ती, सोममाया रसाइली, उमादेबी बिक, प्रेम कुमारी बिक, श्यामलाल रसाइली, देब कुमारी बिक र तिर्सना सिर्पाली रहेका छन्। सर्कलका पदाधिकारीहरुलाई विब्यस अध्यक्ष दिलबहादुर बिकले शुभकामना व्यक्त गर्दै रेडक्रसका सिद्धान्तनुसार काम गर्न सझाव दिए।

विद्यालयका प्रधानाध्यापक नन्द प्रसाद घर्ती मगर संरक्षक रहेको उक्त सर्कलको शिक्षक नायकमा प्रकाश अधिकारी र शिक्षक उपनायकमा कुल बहादुर छन्त्याल चयन भएका छन्। विद्यालयका सामाजिक शिक्षक तथा पत्रकार प्रकाश अधिकारीले कार्यक्रमको सहजीकरण गर्दै रेडक्रसको परिचय, सिद्धान्त, जुरेस गठन प्रक्रिया, साधारणसभा, बैठक तथा अभियाहरुबारे सहभागी विब्यस समिती, शिक्षक–शिक्षिका, विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो। सहजकर्ता अधिकारीले विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताए।

शिक्षक कविन्द्र सिउतानीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर बिक, समाजसेवी दल प्रसाद पुन, प्रधानाध्यापक नन्द प्रसाद घर्ती मगर, शिक्षकहरु कबिन्द्र सिउतानी,आश महमद हवारी , रामकेश यादव, लालकुमारी बिश्वकर्मा, टकदेबी बिक, बिमला थापा मगरलगायतको उपस्थिति रहेको थियो।

विश्व रेडक्रस दिवस सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सुत्रपात गर्ने जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा दिवस मनाइन्छ। यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ। नेपालमा वि.सं.२०२० भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो। हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन्। समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार बढी सदस्य तथा स्वयंसेवक आबद्ध छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्