पारदर्शिता र सुशासन एक अर्काका पूरक : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको बताएका छन्। उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखा परीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताएका हुन्।

एक्यानद्वारा आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनमा उनले भने, ‘मुलुकभर सक्रिय लेखा परीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौं, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखा परीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखा परीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ।’

लेखा परीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जबाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुन्छ भने।

‘कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन सक्दछ,’ उनले भने।

सम्मेलनको उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले लेखा परीक्षकको भूमिकाको प्रशंसा गर्दै स्पष्ट लेखा परीक्षणको आवश्यकताबारे उल्लेख गरिन्।

‘विकास निर्माणका नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव भएको हो,’ मन्त्री साहले भनिन्, ‘यसरी एक्यानले मुलुकको वित्तीय सुशासन, लेखा परीक्षणका माध्यमबाट योगदान दिँदै आएको छ। नयाँ पुस्ताका चार्टर्ड एकाउन्टेटहरुले राष्ट्रको आर्थिक विकासमा लेखाको महत्वका साथै लेखा व्यवसायीलाई बदलिँदो आर्थिक अवस्थाबारे जनचेतना जगाउनुपर्छ, त्यो अत्यन्तै प्रशंसनीय छ।’ -रासस