काँग्रेसले राजनीतिमा छुद्र खेल खेल्नुहुन्न : अध्यक्ष ओली

kp_oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेले मन्त्रीबाट हटाउने उद्देश्य रहेको बताएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो बसेको पार्टी संसदीय दल बैठकमा उनले संसदीय छानबिन समिति बनेपछि काँग्रेसले तत्काल गृहमन्त्रीको राजीनामा माग गर्न सुरु गर्ने दाबी गरे।

‘हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले। राजीनामा अहिले मागेको पो छैन,’ उनले भने, ‘केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ।’ उनले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति बनाउन आवश्यक नरहेको बताए।

अध्यक्ष ओलीले गृहमन्त्री लामिछानेलाई जबरजस्त दोषी करार गर्न काँग्रेस लागिपरेको आरोप लगाए। काँग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको उनको टिप्पणी छ। ओलीले रविलाई डेढ वर्ष खाइदिनुहोस् भन्न जाने, त्यो नमानेपछि फाइल बोकेर हिँडेको बताए। ‘यो काँग्रेसको तरिका ठिक छैन। राजनीतिमा यस प्रकारका छुद्र खेल खेल्नुहुन्न। कसैको उजुरी छैन भनेर महान्यायाधिवक्ताले भनेको छ,’ उनले भने,’ उजुर परेका भरमा छानबिन गर्ने भन्ने हुन्न। यस्तो प्रतिशोधी राजनीति गर्नुहुन्न।’