प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता, के कुरा भयो ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच संसद् बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

भेटवार्तामा काँग्रेस नेताहरूले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराएका थिए। काँग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेका नेता लेखकले बताए। सो सम्बन्धमा काँग्रेसको सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल तथा निर्णय हुने उनले बताए।

काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले काँग्रेसका सभापति देउवासहितका नेताहरूसँग आज छलफल गरेका हुन्।