राजनीतिक स्वार्थ पूरा भएन भनेर सदन अवरोध गर्नु न्यायोचित होइन : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि काँग्रेसले सदन अवरोध गर्नु न्यायोचित नभएको बताएका छन्। एमाले संसदीय दलको बैठकमा बुधवार उनले स्वार्थ पूरा नहुँदा काँग्रेसले संसद्‌लाई बन्धक बनाएको आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए। आरोप लागेको व्यक्तिले सदनमा बोल्न पाउनुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने काँग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताएका छन्।

‘हामीले पनि चलाऔं भनिराखेका छौं । तर, काँग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसद्। विधि र नियमले चल्नुपर्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। संसदमा सांसदले बोल्न नपाउने ? कसैमाथि आरोप लगाएपछि त्यो सांसदले बोल्न नपाउने हुँदैन। काँग्रेस कुनै न्यायाधीश होइन। जसले अपराधी हो भनेर तोक्छ,’ उनले भने, ‘राजनीतिक स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने। आफ्नो तर्फ आउनलाई फकाउन फकिएन भने अपराधी भइहाल्ने। संसदमा नारा लगाउन पनि काँग्रेसलाई सरम लाग्नुपर्छ।’

सहकारी ठगीमा मुछिएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै काँग्रेसले संसद् अवरोध गर्दै आएको छ। उसले संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिएको छ।