सरकारको नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैन : नेता तामाङ

sher bahadur tamang
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नीति तथा कार्यक्रममा राम्रा र निकै महत्त्वपूर्ण कुराहरू समेटिएको बताएका हुन्।

उनले एमालेले कुनै बेला जहाज र सुरुङ मार्गको कुरा गर्दा खिसिट्युरी गरेको स्मरण गराउँदै आज तिनै कुरालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताए। ‘नीति तथा कार्यक्रममा धेरै खोट लगाउने ठाउँ देखिँदैन। राम्रा कार्यक्रमहरू आएका छन्। राष्ट्रिय गौरवका आयोजनाहरू जस्तै, जल यातायातलाई प्राथमिकता दिइएको देखिन्छ,’ उनले भने, ‘हिजो कुनै बेला जहाजको कुरा गर्दा हामी खिसिट्युरी गर्थ्यौं। तर, अब त्यो कुरा कामी कार्यान्वयन गर्नेतिर लागिरहेका छौं। कुनैबेला सुरुङ मार्गको कुरा गर्दा खिसिट्युरी गर्थ्यौं, आज सम्पन्न हुँदैछ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने कुरालाई नीति तथा कार्यक्रमले बोकेको छ।’

नेता तामाङले नीति तथा कार्यक्रमले सबै जिल्लाहरूलाई सडक सञ्जालमा जोड्नेदेखि उत्पादन, कृषि, सुशासनलगायतको विषयलाई नीति तथा कार्यक्रमले बोकेको बताए। नीति तथा कार्यक्रमले कतिपय कुराहरू बोल्न नसकेको भएपनि समग्रतामा प्रगतिशील र सकारात्मक रहेको उनको बुझाइ छ।
नीति तथा कार्यक्रममा घरेलु कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने, उत्पादन गर्ने, अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने कुरा समेटिइएको भन्दै उनले यसले रोजगारी वृद्धि गर्ने विश्वास व्यक्त गरे। अहिले कोदोको रक्सीलाई बजारमा बेच्न नदिने, पोखिदिनेलगायतका समस्या रहेको स्मरण गराउँदै उनले मर्चा हालेर बनाएको शुद्ध कोदोको रक्सी कसैले पोख्न वा घोप्ट्याउन खोजेमा नीति तथा कार्यक्रम पढेर सुनाइदिन र खबरदारी गर्नसमेत उनले आग्रह गरे।

‘नेपाली दिदीबहिनी, आमाहरूले रक्सी बनाएर बजारमा बेच्ने गरेको छ भने त्यसलाई दूषित नबनाउनु होला। त्यसमा अरू कुनै रासायनिक प्रयोग नगर्नुहोला, मर्चा प्रयोग गरेकै कोदोको बनाउनुहोला,’ उनले भने, ‘त्यसरी बनाएको रक्सीलाई यदि कहीँकतै पोखेको देखियो भने, पोख्न कोही आयो भने हिजो घोषणा गरेको नीति तथा कार्यक्रमको बुँदा पढ्दिनुस्, खबरदारी गर्नुस्। त्यो गर्नुपर्दछ। हाम्रो उत्पादनलाई पोख्ने अधिकार कसैलाई छैन। कोदोको रक्सीको अर्को बाइप्रडक्ट कट खुवाएर बंगुर पालन हुनसक्छ । नेपालले रहेका दिन डेढ लाखसम्म बंगुर हामी चाइना पठाउन सक्छौं। वार्षिक १०/१२ खर्बको बंगुरको मासु हामी चाइना पठाउन सक्छौं।’

काँग्रेसले ५६ दिन संसद् अवरोध गर्ने पार्टी एमाले भनेर विगतमा भन्ने गरेको स्मरण गराउँदै उनले उक्त रेकर्ड ब्रेक गर्न खोजेकोमा धन्यवाद दिए। संसद्मा कतिपय विषयहरू गम्भीरतापूर्वक छलफल हुनुपर्ने अवस्था रहेको उनले बताए। नेपाली काँग्रेसलाई साथमा नलिई संक्रमणकालीन न्याय, संविधान संशोधन, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल र परिवर्तन सम्भव नरहेको उनले बताए। उनले यस विषयमा काँग्रेसले पनि गम्भीरतापूर्वक सोचेर संसद् गतिरोध अन्त्य गर्नुपर्ने उनले बताए।

सहकारी ठगी प्रकरणमा समग्र सहकारीको समस्या समाधान गर्ने गरी संसदीय छानबिन समिति वा उच्चस्तरीय समिति बनाउन सकिने उनले बताए। तर, कुनै व्यक्तिलक्षित संसदीय समिति सम्भव नरहेको उनको भनाइ छ। उनले भने, ‘संसदीय समिति बन्छ। कुन अर्थमा बन्छ भन्दाखेरि सहकारीमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले काँग्रेस आउनुपर्‍यो। त्यसमा हामी सहमत हुन्छौं। संसदीय छानबिन समिति वा उच्चस्तरीय समिति जुन बनाए पनि हामी तयार छौं। सहकारीका समग्र समस्याहरूलाई समाधान गर्ने उद्देश्यले समिति गठन गरौं। न कि एउटा कुनै व्यक्तिलाई लक्षित गरेर उसको संलग्नता छ रे भन्ने आधारमा व्यक्ति केन्द्रित गरेर संसदीय छानबिन बन्दैन।’

‘रवि लामिछाने भएको जिम्मेवारीमा तपाईँ हुनुभएको भए र तपाईँमाथि यस्ता प्रश्न उठ्दा के गर्नुहुन्थ्यो ?’ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा जवाफ दिँदै उनले आफू भएको भए प्रश्न उठेपछि पदबाट अलग हुने बताए। ‘व्यक्तिको हकमा प्रश्न उठेपछि के गर्ने हो भनेर व्यक्तिले नै निर्णय गर्ने हो। रविजीको निर्णय मैले गर्न सक्दिन्न। किन भने मेरो निर्णय म गर्न सक्छु,’ उनले भने, ‘उहाँमाथि प्रश्न उठ्यो, उहाँ सरकारबाट अलग भएर छानबिन गर भन्ने वा नभन्ने उहाँले बुझ्ने कुरा हो। मेरो हकमा त्यस्तो प्रकरण उठे छानबिन गर भनेर म अलग हुन सक्छु।’