सरकारको नीति तथा कार्यक्रम निकै प्रगतिशील छ : नेता मोदी

Amanlal_Modi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले सरकारले अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले नीति तथा कार्यक्रम प्रगतिशील रहेको बताएका हुन्।

‘सरकारले अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको छ। यो समग्र नेपाली जनताको लागि हो। माओवादीले ल्याएको, अर्थात् माओवादीको नेतृत्वमा सरकार भएको या सत्ता समीकरणमा भएका राजनीतिक दलको मात्रै होइन,’ उनले भने, ‘सम्पूर्ण नेपाली जनताको अधिकारको कुरामा अहिलेको सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। यो निकै प्रगतिशील छ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अन्य राजनीतिक दलहरूले आग्रह र पूर्वाग्रहबाट बाहिर रहेर सहयोग गर्नुपर्ने उनको भनाइ छ। उनले सरकार र प्रतिपक्षबीच अनेकन् समस्या र असमझदारी भएपनि ती समस्यालाई सम्बोधन गर्न दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। काँग्रेसले संसद्को गतिरोध अन्त्य गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

नेता मोदीले संसद् अवरोध गरिराख्दा जनताले प्रश्न उठाउने बताए। उनले संसद् सुचारु गर्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको बताए। संसद्को गतिरोध अन्त्य गर्न दुवै पक्ष सकारात्मक रहेको उनको भनाइ छ। ‘हामीले संसद् धेरै अवरोध गर्‍यौं भने कानुन निर्माणमा असर पर्छ। धेरै कानुन निर्माण गर्नुपर्ने छ। जनताले प्रश्न उठाउन सक्छन्,’ उनले भने, ‘सरकारले पटक-पटक छलफल र संवाद गरिराखेको छ। छलफल सकारात्मक पछि छ।’

समग्रह सहकारीको समस्या समाधान हुने गरी संसदीय समिति वा उच्चस्तरीय समिति बनाउनुको विकल्प नरहेको उनको भनाइ छ। काँग्रेस व्यक्ति केन्द्रित समिति बनाउनुपर्छ भनेर लागिपरेको उनले बताए। उनले समग्र सहकारीको समस्या समाधान हुने गरी समिति बनाउँदो जोसुकै दोषी भएपछि अनुसन्धान हुने बताए।

‘समग्र समस्या समाधानको बारेमा समिति बनाऊ भन्दा नेपाली काँग्रेसले मानेन। समग्रमा आउँदा उहाँ पनि परिहाल्छन् नि। जोसुकै भएपनि छानबिन समिति बनेपछि प्रश्न उठेपछि जो पनि परिहाल्छ नि,’ उनले भने, ‘एउटा पात्रलाई मात्र होइन, देशमा रहेका सहकारी समस्यालाई ठिक तरिकाले सम्बोधन गर्नका लागि संसदीय छानबिन समिति बन्नुपर्छ भनेर सरकार अहिले बोलिरहेको छ। तर, प्रतिपक्षी नेपाली काँग्रेस रवि लामिछानेको बारेमा मात्रै समिति बनाऊँ भनिरहेको छ।’

साथै, चाँडै नै संसद्को गतिरोध अन्त्य हुने उनको भनाइ छ। उनले संसदीय राजनीतिमा आफूले खेल्नुपर्ने भूमिका काँग्रेसले बिर्सन नहुने बताए। नीति तथा कार्यक्रमको छलफलमा पनि काँग्रेसले विरोध नगर्ने उनले विश्वास व्यक्त गरे। नेता मोदीले संसद् लामो समयसम्म अवरोध हुँदा जनताको आवाजहरू कुण्ठित हुने बताए।