गिरीबन्धु टी-स्टेटको निर्णय काँग्रेसको पालामा भएको होइन : सभापति देउवा

Sher_Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको निर्णय काँग्रेसको पालामा नभएको बताएका छन्। काठमाडौंमा आज आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले गिरीबन्धु टी-स्टेटको निर्णय नेकपा (एमाले)को पालामा भएको बताएका हुन्।

‘काँग्रेसलाई दोष लगाउन मिल्दैन,’ उनले भने, ‘आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ। कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि। त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ। काँग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन। यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो।’

सभापति देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताए। उन लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गरे। उनले लोकतन्त्र र नेपाली काँग्रेसको सङ्गठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको बताए। ‘योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ,’ उनले भने।