चितवनको देवनगर सवस्टेशन सञ्चालनमा

renu-
लोकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देव नगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सवस्टेशनको उद्घाटन गरेकी छन्। शनिवार एक कार्यक्रमकाबीच प्रमुख दाहाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सवस्टेशनको उद्घाटन गरेकी हुन्।

भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीव्र सहरीकरणसँगै विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न देवनगर सवस्टेशन सञ्चालनमा ल्याइएको बताइन्। पश्चिम चितवनको मेघौलीमा पनि ४ बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गर्न लागिएको उनको भनाई छ।

‘मेघौलीको सवस्टेशन सञ्चालनमा आएपछि सबै समस्या हटेर जान्छ,उनले भनिन्, ‘५० वर्षलाई हेरेर भरतपुरको गुरुयोजना निर्माण भएको छ। अबको ५० वर्षसम्म कुनै समस्या आउँदैन।’

भरतपुरमा नेपाल विद्युत् प्राधिकरणबाट महत्त्वपूर्ण कामहरु भएको पनि उनले स्मरण गरिन्। भरतपुरका मुख्य सहरी क्षेत्र बाइपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतिकरण, ८० किमिमा स्मार्ट स्ट्रिट लाइट, बसपार्कमा चार्जिङ स्टेसन र फेरि पनि १५० किमी स्ट्रिट लाइटको काम हुन लागेको जानकारी दिइन्।

उनले उज्यालो भरतपुर बनाउन आउँदो तिहारसम्म स्ट्रिट लाइटको काम सम्पन्न गर्न प्राधिकरणका निर्देशक घिसिङलाई अनुरोध पनि गरिन्। यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरमा प्राधिकरणले कुनै पनि काम गर्दा स्थानीय तहले गर्ने समन्वय देशभरमै उत्कृष्ट पाएको बताइन्।

भरतपुरलगायत देशका प्रमुख शहरहरुको ५० वर्षीय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको जानकारी दिइन्। भरतपुरमा भइरहेको तीव्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिष्कृत र परिमार्जित गरिएकाले ५० वर्षको लागि विद्युत् आपूर्तिको समस्या नहुने गरी बनाइएको सो अवसरमा बताइन्।

उनले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेकाले चितवनका केही स्थान अझै पनि विद्युत् नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिइन्। माडीको विद्युतमा देखिएको समस्या समाधान गर्न छिट्टै नयाँ तार बिच्छाइने उनको भनाइ थियो।

त्यस्तै माडीको बाँदर झुलामा पनि विद्युत् विस्तारको काम अघि बढाइने बताइन्। सवस्टेशनमा ४ वटा फिडर रहेका छन्। सवस्टेशनले भरतपुर महानगरको वडा नं. ५,६,८,९, १३, १४, १५, २२ र २३ मा गुणस्तरीय विद्युत् सेवा वितरण गर्ने छ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो। गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिइन्।कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्