सदनको अवरोध अन्त्य गर्न काँग्रेससँग भएको छलफल सकारात्मक

लोकपाटी न्यूज

काठमाडौं। संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफललाई निरन्तरता दिएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल काँग्रेससँग छलफल गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिका आधारमा निकास खोज्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको बताएका छन्। हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रममा छलफल गरेर पारित गर्नुपर्ने भएकाले संसद्मा प्रतिनिधित्व गरेका दलहरूलाई सहमति जुटाउन दबाब परेको छ।

सहकारीको रकम दुरुपयोगका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली काँग्रेसले संघीय संसद्का दुवै सदनका बैठकमा लगातार अवरोध गर्दै आएको छ। शुक्रबारको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी काँग्रेसको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबारका लागि सारेका थिए भने राष्ट्रियसभाको बैठक गत वैशाख २८ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षीले अवरोध गर्दै आएको छ।

यही जेठ १ गतेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गर्ने संसदीय परम्परा पनि अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्