टीओआरमा सहमतिको प्रयास जारी, काँग्रेसले माग्यो थप समय

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। सहकारीको बचत अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यदेश (टीओआर) मा दलहरूबीच सहमतिको प्रयास जारी छ। समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नै अडान राखे पनि छलफल पश्चात् सहमतिको वातावरण बन्दै गएको नेताहरूले जनाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले टीओआरबारे छलफल गर्न समय मागेको छ। सिंहदरबारमा भएको बैठकपश्चात् एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रुपमा सहमति भए पनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने बताए। विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केही समयपश्चात् सहमत हुन सक्ने उनले बताए।

उनले भने, ‘मोटामोटी छलफल भएको छ। एकाध विषयमा काँग्रेसको असहमति छन्। काँग्रेसले थप छलफल गर्न समय माग गरेको छ। सैद्धान्तिक रुपमा सहमति भए पनि बुँदागत रुपमा आज बेलुकासम्म सहमति हुनसक्छ।’ नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ।

उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ। यसमै दलहरू सहमति नजिक पुगेका हुन्। कार्यदलको बैठकपछि काँग्रेसको आन्तरिक बैठक बस्दै छ। सभापति शेर बहादुर देउवासँग छलफल गरेर काँग्रेस महामन्त्री गगन थापा संसदीय दलको कार्यालय पुगेका छन्। प्रमुख सचेतक रमेश लेखक पनि कार्यालय पुगेका छन्। टीओआर तय गर्न बनेको कार्यदलको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्र कार्कीलाई पनि बोलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्