संसद‍्मा काँग्रेसको नाराबाजी, आइतबारसम्मको लागि बैठक स्थगित

Congress_Sansad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोध गरेपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। सभामुख देवराज घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको थियो। बैठक सुरु हुने बित्तिकै काँग्रेस सांसदहरू वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए।

उनीहरूले सहकारी पीडितलाई न्याय दे,सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर लगायत नारा लगाइरहेका थिए। सभामुख घिमिरेले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेकाले काँग्रेसका सांसदहरूलाई आ-आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।

आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो। उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नाम किटान गर्ने विषयमा दलहरूबीच सहमति नहुँदा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ।

शुक्रबार बिहान बसेको कार्यदल बैठकले पनि निष्कर्षविहीन बनेको छ। संसदीय छानबिन समिति नबनाउँदासम्म संसदको कामकारबाही अघि बढ्न नदिने काँग्रेसको रणनीति छ। काँग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकारलाई दबाब दिन सडक आन्दोलन गर्ने तयारीमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्