सहकारी ठगी काँग्रेसको मात्रै मुद्दा होइन, समग्रको मुद्दा हो : महामन्त्री शर्मा

BishwaPrakash_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी देशभरका सहकारी पीडितको पक्षमा उभिएको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित सडक आन्दोलनमा उनले काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित मात्रै छानबिनको विषय नभई देशभरका समस्याग्रस्त सहकारीको विषयमा छानबिन गर्नुपर्ने भनेको बताएका हुन्।

‘काँग्रेसले रविमाथि मात्रै प्रश्न उठाएको होइन। हामी ७३ लाख मान्छेको विषय उठाइरहेका छौं,’ महामन्त्री शर्माले भने, ‘रवि गाँसिएको सहकारी वा मिडिया मात्रै होइन, देशका प्रत्येक सहकारी जहाँ बचतकर्ताले मेरो पैसा फिर्ता चाहियो भनेर भनेका छन्, त्यो फिर्ता हुनुपर्छ भनेर अपेक्षा राखेका छौं।’

उनले सत्तारुढ दल नेकपा एमालेका कार्यकर्तालाई सहकारी ठग कि पीडितको पक्षमा उभिने भन्दै प्रश्न गरे। ‘यो काँग्रेसको मात्रै मुद्दा होइन, समग्रको मुद्दा हो। मिडियालाई सोध्न चाहन्छौं- तपाईं सहकारी पीडितको पक्षमा हो कि होइन। एमालेभित्रका युवालाई पनि सोध्न चाहन्छौं- तपाईं पीडितको पक्षमा कि ठगहरूको पक्षमा ? एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ ?,’ महामन्त्री शर्माले प्रश्न गरे।

उनले दुई वटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरे। ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो। दुई वटा पासपोर्ट भएर गृह मन्त्रालय चलाउने, दुई वटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?,’ उनको प्रश्न छ।