गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट सर्वोच्चमा दर्ता

Rabi lamichhane pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

शक्तिको दुरुपयोग गरी आफूमाथिको आरोपबाट उन्मुक्ति लिन खोजेको भन्दै गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न अधिवक्ता भट्टराईले रिट निवेदनमा माग गरेका छन्। गृहमन्त्री लामिछानेमाथि छानबिन गरिँदा उनी पदमा रहन उपयुक्त नहुने उनको जिकिर छ।

रिटमा उनले महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि कुनै उजुरी र अभियोजन नरहेको भन्दै दिएको पत्र खारेजीको पनि माग गरेका छन्। महान्यायाधिवक्ताको कार्यालयले २०८१ वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो।

पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरुद्ध उजुरी/जाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो। उक्त रिट सर्वोच्च अदालतमा दर्ता भएपछि बुधबारलाई पेशी तोकिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपिठ गरिदिएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो। उक्त आदेशपछि अधिवक्ता भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्