थोरै लगानीमा पनि उद्यमशीलता बढाउन सकिन्छ : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरू अग्रमोर्चामा खटिने गरेको बताएका छन्।

आजदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताएका हुन्।

‘तपाईंहरुको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहन्छु। तपाईंहरुको यो यात्रा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तरता दिनुहोला। त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौं,’ उनले भने।

अध्यक्ष ओलीले सानासाना सहकारीको प्रवर्द्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न आग्रह गरे। उनले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरू स्वावलम्बी बन्न सक्ने उल्लेख गरे।

उनले भने, ‘लगानी धेरै नगरी पनि उद्यमशीलता बढाउन सकिन्छ। महिला आन्दोलनको एउटा अभिष्ट यो पनि हो। हामी समृद्ध नेपाल, सुखी नेपालको गन्तव्यमा जानुछ, त्यसका लागि तपाईंहरुले आफ्नो ठाउँबाट योगदान दिन सक्नुपर्छ।’

उनले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता भएकै कारण खुसी मान्न नसकिने बताउँदै सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले स्पष्टरुपमा अगाडि बढ्ने उद्घोष गरे।